असारसम्म स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारी

काठमाडाै‌, जेठ १४ । सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागि परेको छ । अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्बेक्षण गरी सोही कुराकोे आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने अधिकारीले जानकारी गराए ।

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित हुने गरेको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको हो ।

उनले भने हामीले माग गरेअनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ, आएका कर्मचारीलाई हामीले क्रमश पठाउँदै पनि छौँ । संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् ।