कास्कीमा वातावरणीय अनुकूलन कार्यक्रम सञ्चालन

पोखरा, असार ८ । कास्की जिल्लाको पुर्वी भेगस्थित रुपा गाउँपालिकाको वडा नं २ मा वातावरणीय अनुकुलन गाउँ कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत सुधारिएको भकारो, थोपा सिँचाइ, पानीको मुहान संरक्षण, घैँटो निर्माण, सुधारिएको चुलो, प्लास्टिक पोखरी, टनेल, बलेनीको पानी सङ्कलन र नर्सरी ब्याड निर्माण गर्ने योजना रहेको छ ।

कृषि मन्त्रालय वातावरणीय विभागको रु ५० लाख अनुदान र २० प्रतिशत स्थानीय जनसहभागिता सहित कुल रु ६० लाखको लागतमा सो कार्यक्रमको सुरु गरिएको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए । असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने लक्ष्यका साथ सो कार्यक्रमको सञ्चालन भएको उनले बताए । सो कार्यक्रमले स्थानीय कृषकहरुको स्वास्थ्यका साथै आय आर्जनमा पनि अनुकरणीय सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

सो वडाका सिकुर्तान, पेलुङ्गा, माझकोट र थुम्कीमा १६६ वटा भकारो सुधार, ६१ वटा सुधारिएको चुलो, ५७ वटा टनेल, ४१ थोपा सिँचाइ, प्लास्टिक पोखरी तीन, बलेनीको पानी सङ्कलन ५७, एक नर्सरी ब्याड लगायत अन्य विभिन्न योजना निर्माण गरिने जागृति कृषि तथा पशुपालन कृषक समूहका सचिव तिलबहादुर थापाले जानकारी दिए । सुधारिएको भकारो निर्माणले गोबर फाल्न सहज हुने र गाईभैँसीको मूत्र सङ्कलन गरी मौसमी एवम् बेमौसमी अर्गानिक तरकारी उत्पादनमा मद्दत पुर्याउने चर्चा गर्दै उनले कार्यक्रमले यो वडालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्ने बताए ।