नेपालीले भोकै मर्नु नपर्ने गरी सरकारले काम गर्ने : प्रधानमन्त्री

हटौँडा, जेठ २१ ।  केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्ने बताए ।

नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ-प्रधानमन्त्री ओलीले भने ।

हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको विचार व्यक्त गरे ।

छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पुर्याउने बताए ।

उनले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन पनि दिएका छन् । जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् उनले भने ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपर्ने बताए ।

मुलुकबाट निरक्षरताको अन्त्य गरिने बताउँदै उनले अहिले सुन्दा कतिपय कुरा काल्पनिकजस्तो लाग्न सक्छ, अब निरक्षर भनेको पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा मात्र हुनेछन्, नेपालबाट निरक्षरताको अन्त्य गर्नुपर्छ भने ।

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा पाँचदेखि १२ लाख विद्यार्थी विद्यालय बाहिर भएको अवस्थामा जुम्लाबाट साक्षरता अभियान शुरु गरेपछि हाल करीब ५९ हजारमात्र विद्यालय बाहिर विद्यार्थी रहेको उल्लेख गर्दै अर्को आर्थिक वर्षमा बाँकी छुटेका विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्ने बताए ।

उनले आगामी असार १५ सम्म विद्यालय भर्नाको दोस्रो चरणको अभियान थालेकाे हुँदा यो अभियानले पनि धेरै विद्यार्थीलाई समेट्ने विश्वास राखे ।

प्रधानमन्त्री ओलीले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं जनताका लागि काम गर्ने प्रणालीको विकास भएको हुँदा अब मुलुकमा सुशासन जरुरी भएको बताए ।

सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ, गरेको थाहा पाएँ भने अनुहार हेर्दिनँ, चाहे आफ्नो पार्टीको होस् वा अर्को पार्टीको होस् उनले भने ।

प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

उनले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए ।

प्रधानमन्त्री ओलीले भने कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।

कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको विचार राखे ।

अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले अनावश्यक रुपमा नचाहिने चिजहरुको पनि आयात भइरहेको र भ्रमपूर्ण पेय पद्धार्थ र जङ्क फुटमा अल्झिएर स्वास्थ्य तथा उपभोक्तामुखी भएर ठूलो घाटा भएको बताउँदै अरबका मुलुकले तेल बेचेजस्तै हाम्रो देशले तरकारी र फलफूलको राम्रो निर्यात गर्नुपर्ने आवश्यकता अाै‌‍ल्याए ।

हेटौंडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, उनले भने कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको बताएका छन् ।

उनले भने- धार्मिक, प्राकृतिक, ऐतिहासिक, हिमाल, अनौठा जीवजन्तु नेपालमा रहेको उल्लेख गर्दै यी प्रचुर सम्भावनाहरुको सदुपयोग गर्न सक्यौ भने मुलुकको समृद्धि सुनिश्चित छ ।