सोलुखुम्बुमा खहरे खोलाले बगाएर दुई विद्यार्थीको मृत्यु

सोलुखुम्बु असार ९ । सोलुखुम्बु सल्लेरीमा खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । विद्यालय प्रशासनको लापर्बाहीका कारण मृत्यु भएको भन्दै तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् ।

विद्यालय प्रशासनको लापार्बाहीले घटना भएको भन्दै घटनाको जिम्मा लिई उचित क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसर भित्रै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए । अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिएका छन् । समस्याको समाधान भए पछि शवलाई परीक्षणको लागि फाप्लुस्थित जिल्ला अस्पताल लगिने भएको छ ।

बिहीबार अपराह्न ५.३० बजे दूधकौसी गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोडिङ्ग स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको मृत्यु भएको थियो । सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका छन् । घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ ।