स्थानीय जनप्रतिनिधिहरुले राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने

भोजपुर, जेठ २३ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राष्ट्रिय पोशाक लगाउनुपर्ने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकमा स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले स्थानीय जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राष्ट्रिय पोशाक लगाउनुपर्ने निर्णय गराएका हुन ।

गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको जनाइएको छ ।

सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीले बताएका छन् । औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्ने भएको छ ।