काठमाडौँ, असार ४ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा सोमबार केन्द्रीय कार्यसमिति बैठकका लागि बोलाइएको छ ।
बैठक जिल्ला सभापतिहरुको भेला हुने मकवानपुरको हेटौंडामा बस्न लागेको हो । मंगलबारबाट जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु हुन लागेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार अपरान्ह ४ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी गराएका छन् ।
जिल्ला सभापतिहरुको भेलालाई केन्द्रित गरेर पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको उनले बताएका छन् । भोलि हुने सभापतिहरुको भेलाका लागि तीन वटा एजेण्डा तय गरिएको बताइएको छ । विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तय गरिएको जानकारी गराइएको छ ।
मुख्यगरी पार्टीलाई थप सुदृढ र सशक्त बनाउने बारेमा गम्भिरतापूर्वक छलफल हुने कांग्रेस सिन्धुली जिल्ला सभापति उज्वल बरालले जानकारी गराए । पार्टीलाई कसरी अब पुरानै अवस्थामा फर्काएर सांगठिक रुपमा सशक्त बनाउने भन्नेबारे भेलामा छलफल हुन लागेको प्रष्ट पार्दै उनले भने, त्यस्तै देश संघीयतामा गइसकेपनि पार्टी विधान अझै संघीयताअनुसारको नभएको अवस्थामा अब कस्तो विधान बनाउने भन्नेबारे बृहत छलफल हुनेछ ।
कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणका लागि प्राथमिकता दिने ओखलढुंगाका जिल्ला सभापति प्रदिप सुनुवारले जानकारी गराए । नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्न थप सहज हुने सुनुवारले बताए । सभापतिहरुको भेलामा स्थानीय, प्रदेश र केन्द्रमा बेहोरेको पराजयका बारेमा समीक्षा गर्दै बिशेष निर्णय हुने उनले बताए ।