चितवन, असार ४ । नेपाली कांग्रेस पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्न आफू सदैव तत्पर रहेको नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले बताएका छन् । नेपाल दलित संघ चितवनले आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा उनले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने जानकारी गराएका हुन् ।
सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात अत्याधिक भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको प्रष्ट पार्दै भने छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको हो । आफूले यस्ता अन्तर्घातीलाई कारबाही गरेर पार्टी एक ढिक्का बनाउने संकल्प लिएको उनले बताएका छन् । सभापति देउवाले निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर नहुने बताउँदै हार के कारणले भयो, उम्मेदवारले प्रष्ट पार्नु पर्ने जानकारी गराए ।
नेपाली काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ आफु लागि परेको बताउँदै उनले भने, पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरी अन्तर्घातमुक्त पार्टी बनाउनुपर्छ, अनि मात्रै काँग्रेस पुरानो अवस्थामा फर्किन्छ । देउवाले नेपालको इतिहासमा पहिलो पटक ठूला दुई वाम दल गठबन्धन गरेर पनि काँग्रेस एक्लै निर्वाचनमा होमिएको प्रस्ट पार्दै कम्युनिष्टले तालमेल गर्दा पनि काँग्रेसका कार्यकर्ताहरुले भोट नहालेको आरोप लगाएका छन् ।
स्थानीय निर्वाचनमा तालमेल गर्दा मत हाल्न सकिदैन भनेर विरोध गर्ने अनि तालमेल नगर्दा सभापतिको कारण निर्वाचन हारियो भन्नेहरु आफैले कसरी वाम गठवन्धन लाई भोट हाल्न सके भन्दै प्रश्न समेत गरे ।
सोही कार्यक्रममा बोल्दै काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने प्रश्न चिह्न खडा भएको बताएका छन् । मलाई भगवानले बरदान माग भने पार्टीलाई एक ढिक्का वनाउन सकुँ भनी भगवान सँग बरदान माग्थे उनले भने । वाम एकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न भएको प्रष्ट पार्दै उनले भने अहिलेको समय पार्टीभित्र एकता भए मात्र वाम एकतासँग जुध्न सकिन्छ । डा कोइरालाले काँग्रेस एक भए कुनै शक्तिको तागतले भेट्न नसक्ने जानकारी गराउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुँदा पनि एउटै विचार भएका व्यक्ति मिल्न नसक्नु दुःखद् भएको धारणा राखे ।
अर्का वक्ता नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको प्रस्ट परेका छन् । कम्युनिष्टले राष्ट्रियतालाई सत्तामा जाने भर्याङ्ग मात्रै बनाएको आरोप महतले लगाएका छन् । उनले काँग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्ने समय आएको स्पष्ट पार्दै भने कम्युनिष्टले भ्रमको राजनिति गरेर जनतालाई झुक्याउने काम गरेको छ यसको पर्दाफास गर्ने काम नेपाली कांग्रेसले नै गर्नु पर्ने हुन्छ ।
सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
दुई दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेश नं ३ का काँग्रेसबाट वडा तहमा प्रतिनिधित्व गर्ने र चितवनका उपविजेता बनेकासहित २०० दलित सदस्यको सहभागिता रहेको आयोजक दलित संघ चितवनका अध्यक्ष शान्ति परियारले जानकारी गराएकी छिन् । प्रकाश अधिकारी, मीना खरेल, मुन्नाबिक्रम खातिले उनीहरुलाई स्थानीय तहमा निभाउनुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी गराइएको छ।