लहान, असार ११ । आर्थिक वर्ष २०७५/७६ का लागि सिरहाको लहान नगरपालिकाले रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ ।
दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरेका थिए । करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्ने साहको भनाइ छ ।
आइतबार कानूनमन्त्री शेरबहादुर तामाङले सो नगरसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा सांसदहरु प्रदीप गिरी, लीलानाथ श्रेष्ठ, सरिता गिरी तथा प्रदेशसभा सदस्यद्वय ललगलाल चौधरी र अशोककुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादवलगायतले दलीय अडान र दृष्टिकोण परिवर्तन गरी साझा धारणा बनाएर सेवाको भावले काम गरेमात्रै सुन्दर र समृद्ध लहान बनाउन सकिने बताए ।
यसैगरी सखुवानन्कारकटी गाउँपालिकाले नमूना गाउँपालिका बनाउने उद्देश्यका साथ आगामी आवका लागि रु ११ करोड ८९ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ ।
बजेट प्रस्तुत गर्दा विकास महसुस गर्ने गरी विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवको भनाइ छ ।