सञ्चारमाध्यमको समस्या सुल्झाउन सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

दमक, असार १५ । देशलाई समृद्धि र विकासको बाटोमा लैजानका लागि पत्रकारले सकारात्मक भूमिका निभाउनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको रहेकाले सो लक्ष्य पूरा गर्न सञ्चारमाध्यमले पनि साथ दिनुपर्ने बताए ।

प्रेस जगतलाई थप मर्यादित र व्यावसायिक बनाउनुपर्ने आवश्यकता रहेको सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ । उनले सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए त्यसको निराकरणका लागि सरकार गम्भीर रहने प्रस्ट पारे ।

प्रेस जगत विश्वासनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके देशले समृद्धितर्फ फड्को मार्ने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरे ।

उनले समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने उनको धारणा छ ।

अबको सञ्चारमाध्यमले समाजको साझा भावना र मर्ममा पनि जवाफदेही बन्नुपर्नेमा मन्त्री बाँस्कोटाको जोड छ । उनले भने– सञ्चारमाध्यमको समस्या सुल्झाउन सरकार प्रतिबद्ध छ ।