बस दुर्घटना हुँदा १५ घाइते

चितवन, असार १७ । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा बस पल्टिदा १५ जना घाइते भएका छन् ।

आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।

दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।