काउन्सिललाई बिबादमा तानेकोप्रति सञ्चारविज्ञको आपत्ति

काठमाडौँ, असार १९ । पछिल्लो समय प्रेस काउन्सिल नेपाललाई निकै विवादमा ल्याउने काम विभिन्न निकायबाट भइरहेको छ । काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले प्रष्ट पारेका छन् । नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै विषयलाई निरुपण गर्ने नभए अदालतमा जानुपर्ने सुझाव नेपाल पत्रकार महासंघद्वारा सोमबार आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पछिल्लो पटक रवि लामिछाने प्रकरणलाई काउन्सिलको मर्यादामाथि प्रहार र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहारको रुपमा लिनुपर्नेमा स्पस्ट पारे ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष रहेको अवस्थामा विभिन्न समयमा रवि लामिछानेविरुद्ध उजुरी आउने गरेको प्रष्ट पारेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कतिपय जिम्मेवार पत्रकारबाट नै सामाजिक सञ्जालमा गैरजिम्मेवार धारणा आएको भन्दै सोचेर मात्र धारणा राख्न अनुरोध गरेका छन् ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलका कार्यवाहक अध्यक्ष माथिको हमलाले काउन्सिलको छविमा प्रहार भएको बताए । घटनाक्रमलाई हेर्दा प्रेस काउन्सिल माथि सोझै आक्रमण गर्न नखोजेको र प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठका कार्य प्रति आपति जनाएको देखिन्छ ।