सुन्तलाबाट पाँच लाख आम्दानी, प्रतिबिरुवा रु २० देखि रु २५ सम्म बिक्री हुने

म्याग्दी, असार २१ । सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले गरेका छन् । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका हुन् ।

विकको नर्सरीमै पुगेर रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले बिरुवा खरीद गरेका हुन् । उनले चार हजार कागतीका बिरुवासमेत बिक्री गरेका छन् । प्रतिबिरुवा रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको छ ।

बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित भएको उनले भने । कृषि सेवा केन्द्रमार्फत तालीम लिएर नर्सरी स्थापना गरेका विकले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको जानकारी गराए । सुन्तलाको बिरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आउने गरेको छ । बिरुवा स्थानीय स्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

यस्तै, फगामकै दिलमायाँ तिलिजाले समेत रु दुई लाखको सुन्तलाको बिरुवा बिक्री गरेका छन् । मनसुन शुरु भएपछि यहाँका किसान सुन्तला, कागती लगायतका फलफूलका बिरुवा रोप्न व्यस्त छन् । स्थानीय तहले समेत किसानलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन् ।