नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन काँग्रेसको आग्रह

काठमाडौँ, असार २२ । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने भनेर मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुझाव दिएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकको शुरुवातमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए ।

उनले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने निर्णय फिर्ता लिन अनुरोध गरे ।

पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन– सांसद देवले भने दम्भ र घमण्ड नपालौँ, नराखौँ, मुठभेडको राजनीतिक अन्त्य गरौँ ।