काठमाडौँ, असार ३२ । सवारी दुर्घटना न्यूनिकरणका लागि टाइमकार्डको व्यवस्था गरिने भएको छ । राजधानीमा दिनहुँ दुर्घटनाका घटनाहरु बढ्दै जान थालेपछि यस्तो व्यवस्था गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि उपत्यकामा मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि लागु गर्ने गरी टाइम कार्डको व्यवस्था गरेको हो ।
टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना अघि सारेको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना हुन थालेपछि सो निर्णय गरेको बताउँछन् ।
टाइम कार्ड लागू र मालबाहक सवारीसाधनलाई सडकको बायाँ भागबाट गुडाउन लगाएपछि दुर्घटनामा कमी आउछ– उनले भने । महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गर्न लागेको छ ।
पछिल्लो समय उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ ।