मेलमिलाप पद्धतिमार्फत ४२ थान मुद्दा टुंगो

पाल्पा, साउन ३ । मेलमिलापका पद्धतिमार्फत पाल्पा जिल्ला अदालतमा परेका मुद्दा टुंगो लगाइएको छ । मेलमिलापका पद्धतिमार्फत आर्थिक वर्ष २०७४/०७५ मा ४२ थान मुद्दा टुंगो लगाइएको हो ।

गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएका हुन् । आठवटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ ।

जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुंगो लगाउन सफल भएको जिल्ला न्यायाधीश शंकरराज बरालले बताएका छन् । ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति प्राप्त गरेको छ ।

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत रहेका छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हँुदा १०२.८३ प्रतिशत प्रगति प्राप्त गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जनाए ।

मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका मुद्दा दिगो प्रकृतिका हुन्छन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउने काम भएको छ ।

मुद्दा मेलमिलापमार्फत टुंगोमा लागेपछि अदालतलाई न्याय सम्पादनमा सहज भएको छ । मेलमिलापमार्फत विवाद टुंगो लगाउन सक्ने मुद्दामा बहस गर्नुपर्दा अदालतमा न्याय सम्पादनमा अप्ठेरो हुने गरेको अदालतले बताएको छ ।