वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने : अर्थमन्त्री

काठमाडौँ, साउन ८ । दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

मंगलबार सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको उद्घाटन गर्दै वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ । नेपालमा गत शनिबारदेखि थालिएको उक्त बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिले सहभागिता जनाएका छन् ।

बैठक शुक्रबारसम्म चल्लेछ । वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामूहिक रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुन जनाइएको छ । साथै सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्कामा अनुभव आदानप्रदानसमेत हुनेछ ।

पछिल्लो समय नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गरी प्रभावकारी काम गरिरहेको छ । अर्थमन्त्री डा खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको बताउँदै दिगो र समुन्नत अर्थतन्त्रको विकासमा लागि परेको जनाए ।

डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदान प्रदानबाट आउन सक्ने जोखिमको न्यूनिकरणका लागि ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा विशेष रुपमा सम्पत्ति शुद्धीकरणमा ध्यान दिएको जनाए ।

अर्थमन्त्रालयका सचिव राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सम्पत्ति शुद्धीकरणमा बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।