काठमाडौैँ, साउन ८ । संविधान बमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अगाडि बढ्न प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई अनुरोध गरेका छन् ।
आज नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न चिह्न खडा गर्दै उनले भने– संसद्ले कानून बनाउँछ, कांग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ ।
अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ । प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको भएको आरोप लगाएका छन् ।
काँग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ उनले भने, हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ? उनले कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि काँग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको स्पष्ट धारणा राखे ।
प्रा डा गोविन्द केसीको अनशन र उनको मागमा काँग्रेस मिसिएको सन्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्य उपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको भन्दै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने बताए । स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रा डा केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उनलाई काठमाडौँ ल्याइएको बताए । सरकारले केसीको उपचार गर्न नपाउने ? उनको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन नसक्ने उनले भने ।
प्रधानमन्त्री ओलीले आफूले देश र जनताप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि बताए ।