चितवन, साउन १० । जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमणमा कमी आउँदै जान थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यो रोगको संक्रमणमा कमी पाइएको हो ।
गत आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३/०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४/०७५ मा दुई हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखिएको छ ।
आव २०७३/०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस फेला परेको थियो । मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्दछ ।
घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।
गत आवमा एक हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको उनको भनाइ छ । आव २०७३/०७४ मा दुई हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण फेला परेको उनले बताए ।
एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने सही उपाय भएको केसीको भनाइ छ ।