आगो नियन्त्रणका लागि उपकरण अभाव

ललितपुर, साउन ११ । ललितपुर महानगरपालिकाका भित्र भागमा आगलागी नियन्त्रण गर्नका लागि पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको अभाव छ ।

महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भागमा आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा त्यस्ता उपकरणको व्यवस्थासहित स्थानीयवासीलाई प्रशिक्षण दिएमा आगलागी नियन्त्रण हुन सक्ने उनको भनाइ छ ।

तत्काल नै आगलागी नियन्त्रण हुन सकेदेखि ठूलो धनजनको क्षति हुनबाट रोक्न सकिन्छ तर त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम बढी हुने गर्दछ– उनले भने ।

बाटो साँधुरो भएको कारणले गर्दा नगरका भित्री भागमा दमकलको व्यवस्था गर्न समस्या भएको प्रमुख महर्जनले बताए । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्यहाँबाट रोलिङ गर्दै लानुपर्छ ।

रोलिङ घर माथिबाट आगो लागेको स्थानसम्म पुर्याउँदा बढी समय लाग्ने र क्षति बढ्ने भएकाले स्थानीयस्तरमा नै अग्नि नियन्त्रक उपकरण हुँदा सहज र चाँडो हुने उनले जनाए ।

केही वर्ष पहिले जापानी सहयोग नियोगले रिजर्भ ट्यांकी निर्माण र अग्नि नियन्त्रक उपकरणको खरीदका लागि आर्थिक र प्राविधिक रुपमा सहयोगसहित स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो ।