काठमाडौैँ, साउन ११ । सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।
आज नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम शुरु गर्ने वातावरण सिर्जना गर्नका लागि पनि अनुरोध गरेका छन् ।
शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्ने उनको भनाइ छ । यसले गर्दा संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुने उनले बताए । संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै भन्दै उनले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल प्रदान गर्न अनुरोध गरे ।
प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार कम हुँदै गएको बताउँदै कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भने ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न अनुरोध गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पुर्याउने बताए । बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जनाइएको थियो ।