सर्वसाधारणलाई करको बोझ नलगाउने : अर्थमन्त्री

काठमाडौं, साउन २७ । सर्वसाधारण मान्छेलाई तीर्न नसक्ने गरी करको बोझ नलगाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गका मानिसलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् ।

संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको व्यवस्था गरिएको उनले स्मरण गराए । काठमाडौंमा आइतबार आयोजना गरिएको व्यवस्थापन गोष्ठीमा बोल्दै उनले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर कर असुल नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् । सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि उनले स्मरण गराए । करको दुरुपयोग हुन नदिने अर्थमन्त्री खतिवडाको प्रतिवद्धता छ ।