काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रजातान्त्रिक सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ। पार्टीभित्र प्रजातान्त्रिक सेनानीको अधिकार र प्रतिनिधित्व स्थापित गर्न सक्रिय दाहाल यसपटक केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढ्नुभएको हो।
ओखलढुङ्गाबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित दाहालले प्रजातान्त्रिक सेनानीका लागि पार्टीका सबै तहमा आरक्षणको व्यवस्था गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। सेनानीको राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएपछि उहाँको पहलले सार्थकता पाएको थियो। त्यसपछि कांग्रेसले वडा तहदेखि केन्द्रीय तहसम्म सेनानीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको थियो।
लामो समयदेखि निष्क्रिय रहेको प्रजातान्त्रिक सेनानी सङ्घलाई पुनः सक्रिय बनाउनु दाहालको अर्को महत्त्वपूर्ण उपलब्धि हो। उहाँले नेतृत्व सम्हालेपछि सङ्घको महाधिवेशन सम्पन्न गराउनुका साथै देशभर जिल्ला, प्रदेश र केन्द्रीय तहका अधिवेशन गराएर नयाँ नेतृत्व चयन गर्नुभएको थियो।
पार्टीका कतिपय भ्रातृ सङ्गठनले लामो समयदेखि अधिवेशन गर्न नसकिरहेका बेला दाहालले सङ्घको महाधिवेशन समयमै सम्पन्न गराएर सङ्गठनलाई चलायमान बनाउनुभएको थियो। सङ्गठन विस्तार र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतासँगै उहाँले प्रजातान्त्रिक सेनानीको राजनीतिक पहिचान स्थापित गर्ने अभियानलाई पनि निरन्तरता दिनुभएको छ।
प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका सेनानीको सम्मान र पार्टीभित्र उनीहरूको सहभागिता बढाउने मुद्दालाई प्राथमिकतामा राख्दै दाहालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लाग्नुभएको हो। ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिबाट प्राप्त समर्थनलाई उहाँले केन्द्रीय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने आधारका रूपमा लिनुभएको छ।






















