ओखलढुङ्गाबाट सर्वाधिक मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित लुइँटेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ, असोज १८ । नेपाली कांग्रेसका युवा नेता कुमार लुइँटेलले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

हालै सम्पन्न जिल्ला अधिवेशनमा ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित लुइँटेलले युवा पुस्ताको नेतृत्व स्थापित गर्न तथा पार्टीको वैचारिक र सांगठनिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

विशेष महाधिवेशन पक्षधर लुइँटेल विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ पार्टीभित्र पुस्तान्तरण र नयाँ विचारको पक्षमा आवाज उठाउँदै आउनुभएको छ । उहाँ सभापति गगनकुमार थापाका विश्वासिला पात्रका रूपमा रहेको जिल्लाका नेता–कार्यकर्ताको बुझाइ छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गाबाट उम्मेदवार बन्नुभएका लुइँटेल पाँच मतको अन्तरले पराजित हुनुभएको थियो । यसपटक केन्द्रीय सदस्यका रूपमा पार्टी संगठनलाई थप सुदृढ र जनमुखी बनाउन भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौँको खुलामञ्चमा सम्पन्न भएको छ । महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते हुने तथा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यतालिका छ ।

केन्द्रीय कार्यसमिति सदस्य तथा पदाधिकारीका लागि असोज १९ गते मनोनयन दर्ता हुँदैछ । लुइँटेलले पनि निर्धारित समयमा आफ्नो उम्मेदवारी दर्ता गर्ने बताउनुभएको छ ।