कांग्रेसमा सात पत्रकारको दाबी, बाला अधिकारीको उम्मेदवारी चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका सात नेता नेतृत्वको प्रतिस्पर्धामा उत्रिने भएका छन् । सातमध्ये एक जनाले पदाधिकारी र छ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित अजयबाबु शिवाकोटी यसपटक सहमहामन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्छ । दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन हुनुभएका शिवाकोटी नेपाल प्रेस युनियनका महासचिवसमेत भइसक्नुभएका पत्रकार हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । दाङबाट महाधिवेशन प्रतिनिधि चयन हुनुभएका पोखरेल पत्रकार महासंघको नेतृत्वबाट कांग्रेस राजनीतिमा सक्रिय हुनुभएको हो ।
वरिष्ठ पत्रकार कविर राणा पनि केन्द्रीय सदस्यका प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार हुनुहुन्थ्यो । राणा देशान्तर मिडिया नेटवर्कका प्रमुखसमेत हुनुहुन्छ ।
पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएकी डा. बाला अधिकारीले पनि केन्द्रीय सदस्यमा दोहोरिन उम्मेदवारी घोषणा गर्नुभएको छ । ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधि छनोट हुँदा सर्वाधिक मत प्राप्त गर्नुभएकी अधिकारी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएको थियो ।
सहिदभूमि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३, उँबुबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी अधिकारी २०४७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल विद्यार्थी संघको विद्यालय शाखाको उपाध्यक्ष हुँदै नेपाल महिला संघको गाउँ विकास समिति उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी उहाँले संगठन निर्माणमा लामो समय काम गर्नुभएको छ । कांग्रेसको १२औँ, १३औँ, १४औँ र १५औँ महाधिवेशनमा लगातार चार पटक महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
अधिकारीले २०५२ सालदेखि पत्रकारितालाई पनि कर्मक्षेत्र बनाउनुभएको हो । २०६० सालमा नेपाल पत्रकार महासंघको सदस्यता लिनुभएकी उहाँले महासंघको केन्द्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष, नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष र उपमहासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय पत्रकार महासंघको उपाध्यक्षसमेत रहिसक्नुभएको छ ।
आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि गर्नुभएकी अधिकारी ‘लोकप्रवाह साप्ताहिक’ र ‘लोकसत्ता डटकम’को सम्पादकका रूपमा सक्रिय हुनुहुन्छ । सार्वजनिक सरोकार, नागरिकका समस्या, सामाजिक विकृति र राजनीतिक विषयलाई पत्रकारितामार्फत उठाउँदै आउनुभएकी उहाँले सञ्चार क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने बताउनुभएको छ ।
‘सक्षम नेतृत्व, समावेशी कांग्रेस र समृद्ध नेपाल’को अवधारणा अघि सार्नुभएकी अधिकारीले पार्टीमा महिला सहभागिता बढाउने, संगठनलाई समयअनुकूल बनाउने तथा नीति निर्माणमा बौद्धिक र व्यावसायिक क्षेत्रको सहभागिता विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ । लामो राजनीतिक तथा सांगठनिक अनुभवसँगै पत्रकारिताबाट प्राप्त ज्ञानलाई पार्टीको नीति र नेतृत्वमा उपयोग गर्ने उहाँको दाबी छ ।
यसैगरी प्रेस युनियनका पूर्वअध्यक्ष तथा तत्कालीन नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष समीरजङ्ग शाहले जाजरकोटबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रेस युनियनका वर्तमान अध्यक्ष शिव लम्साल पनि केन्द्रीय सदस्यका दावेदार हुनुहुन्छ । बारा जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन हुनुभएका लम्सालले एकताबद्ध कांग्रेस निर्माणमा भूमिका खेल्ने बताउनुभएको छ ।
युवा उमेर समूहअन्तर्गत लुम्बिनी प्रदेशबाट कमला हमालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । १४औँ महाधिवेशनमा २४ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि बन्नुभएकी हमाल त्यसयता पार्टी संगठनमा सक्रिय रहँदै आउनुभएको छ ।
पत्रकारिता पृष्ठभूमिका सात नेताको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई बलियो बनाएको छ । त्यसमध्ये डा. बाला अधिकारीको उम्मेदवारीले भने महिला नेतृत्व, समावेशी प्रतिनिधित्व र पत्रकारिता तथा बौद्धिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने बहसलाई थप बल दिएको छ ।




















