कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा, पार्टी एकता प्राथमिकतामा

 

काठमाडौ – नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। शनिबार सानेपामा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टीभित्र कुनै विभाजन नरहेको जिकिर गर्दै महामन्त्रीमा निर्वाचित भएपछि आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउने बताउनुभयो।

आफूलाई बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता बताउँदै डा. शर्माले कोइराला विचारधारासँग आफ्नो निकटता रहेको उल्लेख गर्नुभयो। कांग्रेसको खस्किँदो छवि सुधार्ने र पार्टीको ऐतिहासिक विरासत जोगाउने उद्देश्यले उम्मेदवारी दिएको उहाँको भनाइ थियो।

“कांग्रेस फुटेको छैन, लोकतान्त्रिक पार्टीमा सामान्य विवाद र असमझदारी भइरहन्छन्। त्यसलाई मिलाउने जिम्मेवारी हाम्रो हो। महामन्त्री भएपछि मेरो पहिलो काम पार्टीलाई एकताबद्ध बनाउने हुनेछ,” उहाँले भन्नुभयो।

कोइराला परिवारले कांग्रेस स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले आफू मोरङमा बस्ने भएकाले पनि कोइराला विचारसँग स्वाभाविक निकटता रहेको बताउनुभयो। व्यक्तिभन्दा पनि बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका विचार बोकेर हिँड्ने हजारौँ कार्यकर्ताको प्रतिनिधित्व गर्ने उहाँको दाबी थियो।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे पनि सभापति पदका उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने भन्नेबारे भने उहाँले स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छैन।