धामी–झाँक्री सम्मेलनमा सहभागी हुन अध्यक्ष थापाको आग्रह

काठमाडौँ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले आगामी मङ्सिरमा काठमाडौँमा आयोजना हुने प्रथम ऐतिहासिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धामी–झाँक्री सम्मेलनमा सक्रिय सहभागिता जनाउन संघका पदाधिकारी तथा सदस्यलाई आग्रह गर्नुभएको छ।

ओम सनातन संस्कृति समाज नेपालको आयोजनामा हुन लागेको सम्मेलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै अध्यक्ष थापाले सनातन धर्म, संस्कृति, सभ्यता र प्राचीन परम्पराको संरक्षणका लागि सम्मेलन महत्वपूर्ण हुने बताउनुभएको छ। उहाँले वैदिक, बौद्ध, जैन, शिख, बोन, किराँत तथा प्रकृति पूजक समुदायसहित ॐकार परिवारअन्तर्गतका धामी, झाँक्री र मष्टो गुरुबीच भाइचारा, सद्भाव र एकता कायम गर्दै प्रचलित ऐननियमअनुसार संगठित हुन सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

आगामी २०८३ मङ्सिरमा काठमाडौँमा आयोजना हुने सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्यान्ड, बेलायत, अमेरिका, इन्डोनेसिया र भुटानमा रहेका धामी, झाँक्री तथा मष्टो गुरुहरूको सहभागिता रहने जनाइएको छ।

अध्यक्ष थापाले सम्मेलनमा सहभागी हुन संघसँग आबद्ध विभिन्न देशमा रहेका धामी, झाँक्री तथा मष्टो गुरु र संघका सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यलाई समय व्यवस्थापन गरी सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ।