काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैं आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्षको अन्तिम दिन आज महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । यस अवसरमा धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार आजको रात महालक्ष्मीले पृथ्वी भ्रमण गरी जाग्राम बसेका भक्तजनका घरमा धन र समृद्धि प्रदान गर्ने मान्यता छ । यस दिन देवराज इन्द्रको पनि पूजा गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रीय विधिअनुसार बलिपूर्तिको कार्य सम्पन्न गरिन्छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा ग्रहण गर्दै मान्यजनबाट आशीर्वाद लिने १५ दिने परम्परा पनि आजै अन्त्य हुन्छ । दसैंघरमा राखिएका जमरा, फूल तथा अन्य प्रसादका अवशेष नजिकैका नदी, तलाउ वा पोखरीमा लगी विसर्जन गर्ने चलन छ ।
कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि कात्तिक स्नान, तुलसीको पूजा आराधना र आकाशदीप दान गर्ने परम्परा सुरु हुन्छ । कात्तिक स्नानको व्रत बस्नेहरूले कात्तिक शुक्ल पूर्णिमासम्म स्नान तथा दीपदान गर्ने चलन छ । यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासजस्ता द्विदल अन्न सेवन नगर्ने धार्मिक मान्यता रहेको छ ।






















