पोखरा, चैत २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्नेमा जोड दिएका छन् ।
सभापति देउवाले नेपाल महिला संघद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै कांग्रेस भित्र एकता र सहकार्यको खाँचो रहेको औल्याएका छन् ।
हिजोबाट पोखरामा शुरु भएको कांग्रेस कोषाध्यक्षहरुको भेलाले एकताको संन्देश प्रवाह गरेको बताउँदै उनले भने, पार्टी एकताको सन्देश जनताका माझमा पर्याउन आवश्यक छ ।
पार्टी सभापति देउवाले कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई ऐक्यबद्धता अत्यावश्यक भएको जानकारी गराएका छन् ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गरेका छन् । उनले आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्नेमा जोड दिएका छन् ।
वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने औंल्याएका छन् । उनले नेपाल महिला संघलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न समेत आह्वान गरेका छन् ।