पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बन्छ : नेता थापा

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताएका छन् ।

कांग्रेस इच्छाकामना गाउँपालिकाले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने स्पष्ट पारेका छन् ।

कांग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, काङ्ग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, कांग्रेस नेता सावित्री पुडासैनी, हिरा गुरुङ्, रामबहादुर लामालगायतले जागरण अभियानबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी गराएका छन् ।