सिरहामा लागुऔषधसहित तीन युवकलाई पक्राउ

सिरहा, असार २३ । सिरहाको छुट्टाछुटै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले पक्राउ परेका दुवैको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको बताएका छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको जानकारी पाइएको छ ।

प्रहरीले बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको जानकारी पाइएको छ ।