काठमाडौं, असोज २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य रहेको औंल्याएका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता अत्यरुन्त खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको जानकारी गराएका छन् ।
अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गरेका थिए । अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि विशेष धन्यवाद ज्ञापन समेत गरेका छन् । नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन नदिइने स्पष्ट पारेका थिए ।
चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको स्पष्ट पार्दै उनले भने, परियोजनाको सफलताको शुभकामना दिन चाहान्छु । उक्त परियोजना जति सक्दो चाँडो शुरु भई सम्पन्न हुन सकोस् । राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए । राष्ट्रपति सीले नेपालको संसद्को तर्फबाट तिमल्सिना लगाएत अन्य सांसदहरुलाई पनि चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।