काठमाडौं महानगरपालिकाको होटल क्षेत्रलाई राहत

काठमाडौं । कोरोना कहरबाट प्रताडित भएको होटल उद्योगलाई काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । होटल उद्योगको छाता संगठन होटल संघ नेपालले दिँदै आएको सुझावलाई मध्यनजर गरी महानगरपालिकाले सो निर्णय गरेको हो ।

गत वर्ष महानगरपालिकाले होटल व्यवसायीलाई सम्पत्ति करबापत बुझाउँदै आएको रकममा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको संघले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि महानगरपालिकाले होटलहरुले बुझाउनुपर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा चुक्ता गर्नेलाई थप १० प्रतिशत गरी जम्मा ९० प्रतिशत कर छुट दिएको जनाइएको छ ।

कोभिड–१९ को महामारीले थिलथिलो भएको होटल तथा पर्यटन उद्योग सुधारको बाटोमा फर्कन अझै ५ वर्ष लाग्ने जानिफकारको दावी छ । महानगरपालिकाले दिएको सहुलियतलाई पर्यटन उद्योगको अवस्था राम्रो नभएसम्म निरन्तरता दिइनुपर्ने संघको माग छ ।