काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालनबारे के गर्ने भनेर आज ठोस निर्णय हुँदै छ । परीक्षा सञ्चालनको समय निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परीक्षा सञ्चालनबारे ससर्त अनुमति दिएको थियो ।
कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले ससर्त परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो । शिक्षा मन्त्रालयका अनुसार सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताइएको छ ।
आज बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तय गर्ने सम्भावना छ । साउन अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको बुझिएको छ । कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी आबद्ध छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का संक्रमणका स्थगित गरिएको थियो ।