पैसा कमाउ अभियानमा पम्फा र राजकाजी

ललितपुर, मंसिर २० । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेतृ एवं प्रवक्ता पम्फा भुषाल र राजकाजी महर्जनका राजनीतिक क्रियाकलापहरु पैसा कमाउने ध्येयका साथ हुने गरेको पाइएको छ । राजनीतिलाई समाजसेवा भन्दा पनि कमाइ खाने भांडो वनाएको सुनाकोठीका स्थानीयहरुले वताएका छन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा ललितपुरका जनताले अत्यधिक मतले माओवादी पार्टीका नेताहरु राजकाजी महर्जन र पम्फा भुषाललाई विजयी गराएका थिए । तर, ती नेताहरुले संविधान लेखनको त कुरै छाडौं आफ्नै पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेर पार्टी नै विभाजित बनाएका थिए भने आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भई विभिन्न पेसा अपनाएर पैसा कमाउन तिर लागेका थिए ।

त्यसपछि फेरि संविधानकै लागि २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी पार्टीबाट फुटेका बैद्य समूहमा गएका पम्फा भुषाल र राजकाजी महर्जनले चुनावै बहिष्कार गरेका थिए । माओवादी नेतृ पम्फा भुषालका कारण ललितपुरका दक्षिणी भेगका जनताले खेप्नु शास्ती खेपेका छन् । सातदोबाटोदेखि सुनाकोठी, ठेचो, चापागाउँ हुँदै लेलेसम्मको बाटो निर्माण कार्यमा २२ मिटर बनाउने भनिए पनि भुषालले सातदोबाटो चोकमा १८ मिटर कायम गराई खुमलटार, ढोलाहिटी, सुनाकोटीलगायतका स्थानमा २२ मिटर कायम गराउन खोजेपछि विवाद भई लामो समयसम्म सो बाटो निर्माणमा अवरोध भई सो क्षेत्रका जनताहरुले धुलो हिलो, खाल्डाखुल्डीका कारण सास्ती नै व्यहोर्नु परेको छ ।

जनप्रतिनिधि भएका कारण भुषालले एउटै मापदण्ड अनुसार सडक निर्माण कार्य गराउन सहयोग गर्नुपर्ने अवस्थामा उनले उल्टै आफ्नो व्यक्तिगत स्वार्थका लागि मनोमानी ढंगले आफ्ना आसेपासेको घर जोगाउन यस्तो कार्य थालनी गरेकी हुन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा विजयी भएपछि जनमुखी, विकास निर्माणको कार्यमा माखो समेत नमारेको र जनतालाई नाकमुख समेत नदेखाएका कारण दक्षिण ललितपुरका जनताहरु उनीप्रति व्यापक रुष्ट बनेका छन् ।

त्यस्तै, ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेकी नेतृ भुषालले व्यापारिक प्रयोजनका लागि सेल्सबेरीलाई जग्गा भाडामा दिँदा टेण्डर आह्वान गरे पनि कम मूल्यांकनवालालाई टेन्डर दिलाएकी थिइन् । उनले त्यसबापत मोटै रकम कुम्ल्याएको र आर्थिक अपचलन गरी आफ्नो स्वार्थ पूरा गरेको व्यवस्थापन समितिका एक पदाधिकारीले वताए । भुषाल आफै सक्रिय भएर गरेको यस्ता कार्यका विषयमा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बोल्न समेत नदिई आफ्नो मनपरी गरेको व्यवस्थापन समितिका एक सदस्यले बताएका छन् । सेल्सबेरीलाई विद्यालयको सो जग्गा भाडामा दिँदा भुषालका आसेपासेलाई समेत घरजग्गाको मालिक बनाई व्यापक आर्थिक हिनामिना गरेको ती व्यवस्थापन समितिका पदाधिकारीले नाम नछाप्ने सर्तमा बताए । सो जग्गा भाडामा दिई आर्थिक हिनामिनाबाट नेतृ भुषालका आसेपासे रही घर र गाडीको मालिकसम्म बन्न भ्याउनेहरुमा निलकण्ड नेपाल, हरिमान महर्जन, भगवान साही रहेको महेन्द्र आदर्शकै कर्मचारीहरुले बताउने गरेका छन् ।

त्यसैगरी, ललितपुर क्षेत्र नं ३ ‘क’ का माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनले पनि मदन स्मारकको व्यवस्थापन समितिको अध्यक्ष रहँदा व्यापक आर्थिक हिनामिना गरी डुङडुङ्ती गनाएको बुझिएको छ । राजकाजी महर्जनले पनि सो विद्यालयलाई तहस नहस अवस्थामा पुर्याएका स्कुलका संचालक समितिका सदस्यहरुले बताउने गरेका छन् । पम्फा भुषाल र राजकाजी महर्जनले हरेक राजनीतिक क्रियाकलापहरु आर्थिक लाभ र हानीका आधारमा हुने गरेको सुनाकोठीकै एक स्थानीयले वताए । राजकाजी महर्जन अहिले सुनाकोठीका सांस्कृतिक सम्पदाहरु मास्नका लागि तत्पर रहेको पनि ति स्थानीयले वताए ।

साभार आम सरोकार डट कम