काकाकूल बन्यो दलित बस्ती

जाजरकोट, माघ २९ । जाजरकोटको एक दलित बस्तीका बासिन्दाले बर्षौदेखि खानेपानीको समस्या झल्दै आइरहेका छन् ।

आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको समस्या भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै अभाव झेल्नु परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको उनले बताइन् । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा रहेको, बालबालिकालाई पठाउँदा निकै ढिला हुने भएकाले आफै जाने हो भने घरको काम नहुने उनी बताउँछिन् ।

६२ वर्षीया पानसरी विक पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव हुँदै हुने गरेको बताउँछिन् ।  त्यहाँको दलित बस्तीमा २३ घरपरिवार बसोबास गर्दै आएका छन् । ती सम्पूर्ण दलित परिवारले एउटै समस्या भोग्दै आइरहेका छन् । सबै दलित परिवार घण्टौँ हिँडेर पानी ल्याउन बाध्य छन् । माथिल्लो गाउँमा पानीको धारा आँगनमै हुँदा सरसफाइ, तरकारी बाली लगायतमा सिँचाइसमेत गर्न सजिलो भएको छ ।

माथिल्लो दल्लीमा अधिकांश ठकुरी र मगर समुदायका बस्ती छ । त्यहाँ नियमित पानी आउँने गर्दछ । आधा घण्टाको दूरीमा रहेको दलित बस्तीमा भने वर्षौंदेखि खानेपानीको हाहाकार हुँदै आएको छ । यहाँका दलित अर्काको काम गर्दै र माछा मारेर जीवनको गुजारा गर्दै आइरहेका छन् । गिट्टी कुटेर यहाँका दलित अहिले बिहान–बेलुकाको छाक टार्ने गरेको अर्का दलित मने वादीले बताए ।

दलित समुदायका बालबालिकाले दैनिक विद्यालय जान पनि पाउँदैनन् । उनीहरु आमा, बाबासँग गिट्टी कुट्नेदेखि भारत गएर काम गर्ने गर्दछन् । खरले छाएको छाप्रोभित्र यहाँका दलितको बसाइ रहेको छ । अभावै अभावको जिन्दगी बिताउन बाध्य भएको वादी समुदायका अगुवा रत्ने वादीले बताउँछन् ।

पर्याप्त जमिन भएको भए केही खेती, किसानी गरेर परिवार पाल्ने सजिलो हुने थियो तर सम्पत्तिको नाममा छाप्रो घर मात्र रहेका कारण केही प्रगति हुन नसकेको मनेले उनको भनाइ छ । पानी भएको भए थोरै भएको जमिनमा केही खेती गरेर उत्पादन गरी समस्या हल हुने उनी बताउँछन् ।