‘कुटुमा कुटु’लाई तीन हप्तामा ५० लाख बढी भ्यूज

नेपाली गीत संगीत क्षेत्रमा निकै प्रतिस्पर्धा हुन थालेको छ । हाल नेपाली फिल्मका गीत–संगीतहरुले युट्युबमा लाखबढी भ्यूअर्स पाउनु भनेको सामान्य हो । केही फिल्मका गीतहरुले त युट्युबमा करोड बढी भ्यूज समेत पाइसकेका छन् त केही चलचित्रका गीत भने दर्शक श्रोताको रुचिमा पर्न नसक्ने अवस्था पनि छ ।

‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’, ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’, ‘लुट २’ को ‘ठमेल बजार’, ‘पर्व’को ‘काले दाई’देखि गायक हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीतको भिडियोले युट्युबमा करोडभन्दा बढी भ्यू पाउन सफल भएका छन् । यसै गरी यो बर्षको हिट गीतको सूचीमा चलचित्र ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलकोे गीत पनि दर्ता हुन सफल भएको छ । लोकलयको यो गीतले अहिले बजार तताई रहेको छ । सांस्कृति कार्यक्रमदेखि सार्वजनिक सवारीसाधन, चिया पसल जताततै बज्ने गरेको पाइन्छ । युट्युबमा सार्वजनिक गरिएको ३ हप्तामा यो गीतले ५० लाख बढी भ्यूज पाएको छ । गीतमा ४० हजार बढी लाइक छ भने २५ सय बढी डिसलाइक छ ।

भदौ २३ गतेदेखि रिलिज हुने भनिएको चलचित्र ‘कुटुमा कुटु’ ले पनि दर्शको उतिकै मात्रामा साथ पाउने कुरामा निर्माण पक्ष विश्वस्त छन् । विश्व संगीत दिवसका दिन ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा ५० लाख बढी भ्यूअर्स पाए पछि निर्माण पक्ष आशावादी बनेका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यो गीतमा मेलिना राई, राजन इशान र संगीतकार सिवाकोटीको नै स्वर समावेश छ । गीतमा निर्देशक निश्चल बस्नेत, कलाकार आसिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । कमेडी कथामा निर्माण भएको यो चलचित्रको असिम शाहले निर्देशन गरेका छन् ।