काठमाडौँ, जेठ २५ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाई लिएर देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आफ्नो २ बर्षे अवधिभित्र नै १२ औँ महाधिवेशन सम्पन्न गर्ने भएको छ ।
नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघको महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुन लागेको हो । नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताएका छन् ।
बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको जानकारी गराए । आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ ।
अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने जानकारी गराएका छन् । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ । जिम्मेवारी दिएका व्यक्तिहरुमा प्रदेश नं. १ केन्द्रिय उपाध्यक्ष विकास केसी, केन्द्रिय उपाध्यक्ष नवीन राइ र सहमहामन्त्री कृष्णराज कार्की रहेका छन् ।
यसैगरी प्रदेश नं. २ मा केन्द्रिय उपाध्यक्ष सञ्जय यादव, केन्द्रिय सहमहामन्त्री राजेश रौनियार र अर्का केन्द्रिय सहमहामन्त्री परमेश्वर शाहलाई जिम्मेवारी दिएको छ भने प्रदेश नं ३ मा केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारी, केन्द्रिय उपाध्यक्ष उर्मिला थपलिया, केन्द्रिय सहमहामन्त्री माधव ढकाल, केन्द्रिय सहमहामन्त्री महेश्वरी कुँवर, केन्द्रिय सहमहामन्त्री प्रेमराज जोशीलाई छनोट गरिएको छ ।
प्रदेश नं. ४ का लागि केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रिय उपाध्यक्ष सागर परियार, केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा र कोषाध्यक्ष शिव रिमाल रहेका छन् । त्यस्तै प्रदेश नं. ५ का लागि केन्द्रीय उपाध्यक्ष प्रकाश राणा, केन्द्रीय उपाध्यक्ष पवन यादव, केन्द्रिय सहमहामन्त्री प्रकाश घिमिरे, केन्द्रिय सहमहामन्त्री ललिता सुनुवार रहेका छन् भने प्रदेश नं. ६ का लागि केन्द्रीय उपाध्यक्ष खड्ग डाँगी, केन्द्रिय सहमहामन्त्री इश्वर विष्ट, केन्द्रिय सहमहामन्त्री साधना घिमिरे रहेका छन् ।
त्यस्तै प्रदेश नं. ७ का लागि केन्द्रिय सहमहामन्त्री पुस्कर कुमार शाही, केन्द्रिय सहमहामन्त्री अम्बिका चलाउने, केन्द्रिय सहमहामन्त्री अच्यूत कलौनी रहेका छन् । यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ ।
नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिनुभयो ।
प्रवक्ता जोशीले नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जेठ २७ मा सबै जिल्लामा सिठी जुलुस र जेठ ३१ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघले जानकारी गराएको छ ।