काठमाडौँ, असार २२ । आफूले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्ने अडान प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिएकाले प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
आज आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता काँग्रेसले गराएको थियो ।
बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरुले सो प्रस्ताव कार्यसूचीमा नभएको भन्दै आशनबाट उठेर विरोध जनाएका थिए । सभामुख कृष्णबहादुर महराले बोल्नका लागि सांसद बालकृष्ण खाँणलाई समय दिएकामा उनले सो प्रस्तावका सम्बन्धमा सरकारको जवाफ माग गर्दै प्रस्तावलाई महत्व दिई तत्काल छलफल गर्नुपर्ने बताएका छन् ।
सभामुख महराले सार्वजनिक महत्वको प्रस्ताव सदनको जानकारीमा आएको बताउँदै प्रस्तावका सम्बन्धमा सरकारको जवाफ आउने र प्रस्ताव प्रक्रियाअनुसार अघि बढ्ने जानकारी गराएका थिए । सभामुखको पटक–पटकको अनुरोधपछि पनि काँग्रेस सांसदहरु उभिइरहेपछि सदन आधा घण्टाका लागि स्थगित गरिएको हो ।