काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कुर्सी खाली राखिए पनि उहाँ सहभागी हुन नआएको बताउनुभएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई लिन पार्टीका नेता कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्नुभयो।
“पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो ?” उहाँले भन्नुभयो।
सभापति थापाले पार्टी छाडेर बाहिरिएका नेताहरूका विषयमा पनि कांग्रेसले अब स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभयो। कांग्रेसबाट केही साथीहरू बाहिरिएको उल्लेख गर्दै उहाँले उनीहरूले कांग्रेस छाडेको हो वा कांग्रेसले उनीहरूलाई छाडेको हो भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो।
“केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,” उहाँले भन्नुभयो।
नयाँ नेतृत्वसँगै कांग्रेसले विगतको समीक्षा गर्दै पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा समेत स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उहाँको भनाइ थियो।






















