कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा पुनर्स्थापित गर्ने थापाको खाक

कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा पुनर्स्थापित गर्ने थापाको खाक

काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी राजनीतिक दिशा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को अवधारणामा आधारित हुने गरी राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा कांग्रेसको विगतको राजनीतिक यात्रा, वर्तमान अवस्था र आगामी कार्यदिशाको समीक्षा गर्दै पार्टीलाई नयाँ राजनीतिक ऊर्जा र स्पष्ट लक्ष्यसहित अघि बढाउने प्रस्ताव गरिएको छ।

सभापति थापाले कांग्रेसमा पछिल्लो समय देखिएको सत्ताकेन्द्रित राजनीति, संगठनात्मक कमजोरी र नयाँ पुस्तासँग बढेको दूरीलाई गम्भीर आत्मसमीक्षाको विषय बनाउनुभएको छ। निर्वाचनमा भएको पराजयसहित पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र जनताका अधुरा अपेक्षाबीचको दूरी घटाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्म विकसित राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्र, बसाइँसराइ तथा विश्वमा भइरहेको तीव्र परिवर्तनलाई कांग्रेसले बुझ्नुपर्ने नयाँ चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

लोकतन्त्रप्रतिको असन्तुष्टि विस्तारै लोकतन्त्रकै अस्वीकारतर्फ जाने जोखिमप्रति पनि प्रतिवेदनले सचेत गराएको छ। लोकरिझ्याइँले जनताको वास्तविक असन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भएकाले कांग्रेसले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा आफ्नो ऐतिहासिक दायित्वलाई नयाँ ढङ्गले पूरा गर्नुपर्ने धारणा थापाले अघि सार्नुभएको छ।

थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने राजनीतिक दल नभई निर्वाचनबीच पनि नागरिकसँग निरन्तर जोडिने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, तथ्यमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसलाई केवल प्रतिपक्षी दलका रूपमा सीमित नराखी लोकतान्त्रिक सन्तुलनको प्रमुख आधार र राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने थापाको दृष्टिकोण छ। त्यसका लागि सामाजिक आन्दोलनका मुद्दालाई संस्थागत राजनीतिक रूपान्तरणसँग जोड्ने, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थामा रूपान्तरण गर्ने र जनविश्वास पुनर्निर्माण गर्ने कार्यदिशा अघि सारिएको छ।

प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई बदलिँदो समयअनुकूल पुनर्व्याख्या गर्ने प्रयास पनि गरिएको छ। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका मूल आदर्शका रूपमा निरन्तरता दिँदै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ।

राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासन, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्व तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रताको आधारका रूपमा व्याख्या गरिएको छ। असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्न राष्ट्रिय मेलमिलापको अवधारणालाई समेत प्रतिवेदनले जोड दिएको छ।

थापाले अघि सार्नुभएको ‘समुन्नत नेपाल’को अवधारणाले आर्थिक वृद्धिसँगै नागरिकको सामर्थ्य, अवसर, सहनिर्माण र जवाफदेहितालाई विकासको आधार मानेको छ। राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्दै लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक र मानवीय आधारमा समुन्नत नेपाल निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ।

आगामी कांग्रेसलाई ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ बनाउने खाका पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ। सदस्यता विस्तार, नागरिक सहभागिता, पार्टीभित्र स्वामित्वको भावना, तहगत समन्वय, आन्तरिक लोकतन्त्र र साझा सामर्थ्यमा आधारित संगठन निर्माणलाई प्राथमिकता दिइएको छ।

पार्टीभित्र अर्थपूर्ण समावेशिता, पाँच पुस्ताबीचको सहकार्य, परिवारको अपनत्व, राष्ट्रिय सरोकारमा आधारित सामाजिक आन्दोलन तथा विचार र नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने प्रस्ताव गरिएको छ। जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड, स्पष्ट कार्यप्रतिबद्धता, स्वच्छ वित्तीय आधार र सार्वजनिक लेखापरीक्षणलाई पनि संगठन सुधारको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ।

थापाले आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र परिणाममुखी कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका लक्ष्य हासिल गर्ने राजनीतिक योजना प्रस्तुत गर्नुभएको छ। नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्‍याउने र कांग्रेसलाई आफ्ना मूल राजनीतिक मूल्यप्रति दृढ राख्ने विषयलाई प्रतिवेदनको निष्कर्षमा प्राथमिकता दिइएको छ।

१५औँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा पार्टीको वैचारिक, राजनीतिक र संगठनात्मक रूपान्तरणसम्मको समग्र दिशा अघि सारेको छ।