बालेनको टिप्पणीमा विश्वप्रकाशको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्रका लागि लड्यो’
काठमाडौं, असोज १९ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको जवाफ दिँदै कांग्रेसले संघर्ष गरेर ल्याएको लोकतन्त्रका कारण प्रधानमन्त्रीले पनि आफ्ना धारणा सार्वजनिक गर्न पाएको बताउनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उपसभापति शर्माले प्रधानमन्त्री शाहको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताउनुभयो। उहाँले लोकतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने अधिकार रहेको उल्लेख गर्नुभयो।
‘‘प्रधानमन्त्रीले हिजो केही लेख्नुभएको रहेछ। प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्छु,’’ शर्माले भन्नुभयो, ‘‘कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ।’’
प्रधानमन्त्री शाहले कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापाले सरकार र संसद्को विषयमा दिएको अभिव्यक्तिपछि आइतबार राति सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको थियो। उहाँले ‘‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’’ भन्ने आशयको टिप्पणी गर्नुभएको थियो।
प्रधानमन्त्रीको उक्त टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै शर्माले लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताको आधार भएको बताउनुभयो। उहाँले कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षकै परिणामस्वरूप प्रधानमन्त्रीले समेत मध्यरातमा आफ्ना धारणा सार्वजनिक गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो।
‘‘धन्न कांग्रेसले लोकतन्त्रका लागि लड्यो र मध्यरातमा प्रधानमन्त्री बोल्न पाउनुभयो,’’ शर्माले भन्नुभयो।
उहाँले लोकतन्त्रको मूल्य र उपलब्धि व्यवहारबाट पुष्टि हुनुपर्ने बताउँदै लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने दायित्व सबै राजनीतिक शक्तिको भएको धारणा राख्नुभयो।






















