मन्त्रिपरिषद्का पाँच निर्णय : १० करोड अनुदानदेखि मुद्दा फिर्ता सिफारिससम्म

काठमाडौं, असोज १९ गते । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।

बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमावली स्वीकृत गरेको छ। त्यसैगरी वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।