काठमाडौँ, असोज १८ । नेपाली कांग्रेसकी नेतृ ललिता देवी गुरुङले पार्टीको १५औँ महाधिवेशनमा जनजाति महिला क्लस्टरतर्फ केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
तत्कालीन गण्डकी अञ्चल, हालको गण्डकी प्रदेशमा जन्मिनुभएकी गुरुङ लामो समयदेखि गरिब, निमुखा, दुःखी, शोषित तथा पछाडि पारिएका वर्ग, महिला, आदिवासी जनजाति र भुइँमान्छेका सवालमा आवाज उठाउँदै आउनुभएको छ । जीविकोपार्जनका लागि संघर्ष गरिरहेका नागरिकका समस्या समाधानका विषयमा सम्बन्धित निकायलाई खबरदारी गर्दै आउनुभएकी उहाँले ती सवाललाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङ कांग्रेस सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्रबाट प्रतिनिधि बन्नुभएको हो । उहाँले स्थानीय तहमा आफूले उठाउँदै आएका सामाजिक सवाललाई अब पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासँग जोड्न चाहेको बताउनुभयो ।
“जसको आवाज सहजै नेतृत्वसम्म पुग्दैन, उनीहरूको आवाज उठाउनु मेरो राजनीतिक जिम्मेवारी हो,” गुरुङले भन्नुभयो, “गरिब, महिला, जनजाति, अनाथ र भुइँमान्छेका समस्या भाषणमा मात्र सीमित नभई समाधानका लागि नीति र कार्यक्रममै समेटिनुपर्छ भन्ने मेरो मान्यता हो ।”
केन्द्रीय सदस्यमा निर्वाचित भएमा महिला, आदिवासी जनजाति, विपन्न तथा पछाडि पारिएका समुदायका सवाललाई पार्टीको नीति तथा कार्यक्रममा समेट्न र कार्यान्वयन गराउन पहल गर्ने उहाँले बताउनुभयो ।
गुरुङका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु स्थानीय तहमा उठाउँदै आएका आवाजलाई पार्टीको केन्द्रीय मञ्चसम्म पुर्याउने नयाँ अवसरका रूपमा देखिएको छ । उहाँले राजनीतिको अर्थ पद प्राप्ति मात्र नभई आवाजविहीनका सवाललाई निर्णय गर्ने ठाउँसम्म पुर्याउनु पनि भएको बताउनुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौँमा सम्पन्न भएको छ । महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य तथा पदाधिकारीका लागि असोज १९ गते मनोनयन दर्ता हुँदैछ ।






















