दशैँमा जमरा प्रतिमुठा १५० रुपैयाँसम्म

बेद प्रसाद  घिमिरे

काठमाडौँ, असोज ४ गते। बडादसैँको मुख्य दिन विजयादशमीमा काठमाडौँको काष्ठमण्डप क्षेत्रमा जमरा प्रतिमुठा १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। घटस्थापनाका दिन घरमा जमरा राख्न नपाएका सर्वसाधारणलाई लक्षित गरी काष्ठमण्डप क्षेत्रमा फूलपातीसँगै जमरासमेत बिक्रीका लागि राखिएको हो।

विभिन्न कारणले घरमै जमरा उमार्न नपाएकाहरू बिहानैदेखि काष्ठमण्डप पुगेर जमरा किनिरहेका छन्। त्यहाँ जमराको आकार र मुठाअनुसार प्रतिमुठा १०० देखि १५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। दसैँको टीका लगाउने दिन जमरा आवश्यक पर्ने तर घरमा जमरा नभएका सर्वसाधारणका लागि यसले सहजता प्रदान गरेको छ।

विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने नेपाली परम्परा छ। नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउँदै परिवारका ज्येष्ठ सदस्य तथा आफन्तबाट सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने चलन छ। दसैँका अवसरमा आफन्त तथा बन्धुबान्धव भेला भएर टीका लगाउने र आपसी सद्भाव साटासाट गर्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा मनाइन्छ। देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको विश्वासका आधारमा मनाइने यस पर्वमा टीका र जमरा ग्रहण गर्दै सत्य, धर्म र सदाचारको मार्गमा अघि बढ्ने कामना गरिन्छ।