रवि लामिछानेद्वारा विपत्तिबीच एकता र नवनिर्माणको सन्देशसहित दशैँको शुभकामना

बेद प्रसाद घिमिरे

काठमाडौँ, कात्तिक ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउनुपरेको यस वर्षको विजया दशमीले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ।

विजया दशमी, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको बडादशैँले सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति ल्याउने विश्वास व्यक्त गर्नुभएको हो।

यस वर्षको दशैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै सभापति लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घरबारविहीन र विस्थापित भएका परिवारको पीडाप्रति संवेदना प्रकट गर्नुभएको छ।

सङ्कटको यस संवेदनशील घडीमा विजयादशमीले नेपाली समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैलाई अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुनुपर्नेमा जोड दिँदै उहाँले नवदुर्गा भवानीले सबैलाई सद्बुद्धि, शक्ति र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।

विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभापति लामिछानेले सकारात्मक सोच र नयाँ आशासहित बडादशैँ मनाउन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।