कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम मंगलबार जारी छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय निर्धारण गरेको छ।
हालसम्म सभापति पदमा श्यामकृष्ण खड्गीको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।
उपसभापति पदमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, पुष्पा भुसाल, चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ र दीपक गिरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, महामन्त्री पदका लागि डिला संग्रौला, रिता खनाल, महालक्ष्मी उपाध्याय ‘डिना’, शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।
सहमहामन्त्री पदमा प्रतिमा गौतम, देवेन्द्रराज कंडेल, जीवनबहादुर शाही, मीन भाम, रामहरि खतिवडा, मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी, जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा, तेजुलाल चौधरी, आङ्गेलु शेर्पा, अब्दुल सत्तार, अभिषेक प्रताप शाह र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।
सहमहामन्त्रीमा महिला, खुला, पिछडिएको क्षेत्र, खसआर्य, आदिवासी जनजाति, थारू, अल्पसंख्यक, मुस्लिम र मधेशी समूहबाट उम्मेदवारी परेको छ।
उम्मेदवारी दर्ताको समय समाप्त भएपछि निर्वाचन समितिले दर्ता भएका उम्मेदवारको अन्तिम विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।























