प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विजयादशमीको शुभकामना, भ्रष्टाचार र कुशासन अन्त्य गर्न आह्वान

 

बेद प्रसाद घिमिरे

काठमाडौँ, ४ कात्तिक।प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले विजयादशमीको शुभकामना सन्देशमार्फत भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्नुभएको छ। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस पर्वलाई मनाइने उहाँले बताउनुभएको छ।

विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने उहाँको भनाइ छ। यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्नसमेत प्रेरित गर्ने उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउँदै हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताउनुभएको छ। यस्ता विकृति अन्त्य गर्न इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक पर्ने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिनुभएको छ।

विविध भौगोलिक, सांस्कृतिक र भाषिक पहिचान भएको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न तथा वर्षौँदेखि टाढिएका साथीभाइ र आफन्तजनबीच आत्मीयता साटासाट गर्न विजयादशमीले अवसर प्रदान गर्ने उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री शाहले सबैलाई आआफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्नुभएको छ।