आफन्तकहाँ टीका लगाउन जानेका लागि प्रहरीको निःशुल्क बससेवा

बेद प्रसाद घिमिरे

काठमाडौँ, कात्तिक ४ गते।विजयादशमीका दिन आफन्त तथा मान्यजनकहाँ टीका लगाउन जाने सर्वसाधारणको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेको छ।

बडादशैँको अवसरमा यात्रुको सुविधालाई ध्यानमा राखेर प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो। सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने असुविधा कम गर्दै दसैँमा आफन्त तथा मान्यजनकहाँ पुग्न सहज होस् भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

रुट नम्बर १ को बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।

त्यस्तै, रुट नम्बर २ को बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।

रुट नम्बर ३ को बस नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै नक्साल फर्किनेछ।

टीकाका दिन तीनवटै रुटमा बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३ः३० बजे दोस्रो सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ। यसअघि कात्तिक ३ गते दिउँसो ४ बजेदेखि निःशुल्क बससेवा सञ्चालन गरिएको थियो।