कांग्रेस महाधिवेशनमा प्रमुख अतिथि बन्न देउवालाई थापाको निम्तो, भेट्न नपाएपछि निवासमै छाडियो पत्र

 

काठमाडौ /नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई सभापति गगन थापाले निमन्त्रणा पठाउनुभएको छ। सभापति थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा कांग्रेस नेताहरूको टोली देउवा निवास पुगे पनि देउवासँग प्रत्यक्ष भेट हुन सकेन।

सहमहामन्त्री चौधरीका अनुसार देउवा निवास पुग्दा पूर्वसभापति देउवा भेटका लागि उपलब्ध हुनुहुन्नथ्यो। उहाँका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि टोलीले निमन्त्रणा पत्र निवासमै छाडेर फर्किएको थियो।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार हुँदैछ। पार्टीभित्रको पछिल्लो नेतृत्व विवाद र राजनीतिक विभाजनका बीच सभापति थापाले पूर्वसभापति देउवालाई उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाउनुभएको हो।

निमन्त्रणा पत्र पुर्‍याउन प्रतिनिधि टोली नै देउवा निवास पुगे पनि भेट हुन नसकेपछि उहाँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुहुने वा नहुने भन्ने विषय चासोको विषय बनेको छ।