काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुषले आगामी मंसिर ५ र ६ गते केन्द्रीय अधिवेशन गरेर संगठन पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। उहाँले यसपटक अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णयसमेत सार्वजनिक गर्नुभएको छ।
पुरुषले धार्मिक संगठनलाई स्वतन्त्र, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउनुपर्नेमा जोड दिँदै विगत दुई दशकमा विभिन्न धार्मिक संगठनबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको धारणा व्यक्त गर्नुभएको छ। धार्मिक आस्था र राजनीतिक व्यवहारबीच एकरूपता हुनुपर्ने उल्लेख गर्दै उहाँले सनातन धर्म तथा हिन्दुत्वको पक्षमा रहेका व्यक्तिहरूलाई संगठित हुन आह्वान गर्नुभएको छ।
आफूलाई मन नपराउने व्यक्तिहरूलाई समेत संगठनमा सहभागी हुन सहज वातावरण बनाउन अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको उहाँले बताउनुभएको छ। अधिवेशनमा नियमअनुसार संगठित भएर आएका योग्य गुरुहरूको नेतृत्वमा नयाँ संगठन निर्माण गरिने उहाँको भनाइ छ।
पुरुषले आफू प्रत्यक्ष रूपमा धर्मराजनीतिमा सक्रिय हुने वा सनातन जीवनशैलीमा आधारित बस्ती निर्माण गरेर त्यसको अभ्यास प्रस्तुत गर्ने योजना पनि अघि सार्नुभएको छ। सनातन धर्मलाई केवल धार्मिक आस्था वा राजनीतिक नारामा सीमित नराखी दैनिक जीवनशैलीका रूपमा स्थापित गर्नुपर्ने उहाँको धारणा छ।
संगठन विस्तारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला तहका नेता तथा कार्यकर्ता र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य राजनीतिक दलका व्यक्तिहरूसँग सहकार्य गरिने उहाँले बताउनुभएको छ। राप्रपाका जिल्ला अध्यक्षहरूसँग समन्वय गरी जिल्लागत अवस्था बुझ्ने र स्थानीय तहसम्म संगठन विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ।
धार्मिक संस्थाहरूमा राजनीतिक आबद्धता र नेतृत्वको भूमिकाबारे समीक्षा गर्ने तथा मठमन्दिर र आश्रमका समितिमा रहेका व्यक्तिहरूको गतिविधि पहिचान गर्ने अभियानसमेत अघि बढाइने उहाँले बताउनुभएको छ। धार्मिक संस्थाहरूको व्यवस्थापन र नेतृत्वमा धार्मिक क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने उहाँको जोड छ।
नेपाललाई धर्म सापेक्ष सनातन हिन्दुराष्ट्रका रूपमा स्थापित गर्न धार्मिक संगठन र आश्रमको प्रयास मात्र पर्याप्त नहुने पुरुषको धारणा छ। त्यसका लागि राजसंस्थाका समर्थक, धार्मिक क्षेत्र र राप्रपाले संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ।
हिन्दुत्वलाई राजनीतिक मुद्दाका रूपमा मात्र नभई जीवनशैलीका रूपमा आत्मसात् गर्ने व्यक्तिहरूले नेतृत्व लिनुपर्ने उल्लेख गर्दै उहाँले धार्मिक क्षेत्रका अगुवाहरूलाई नेतृत्वदायी भूमिकामा आउन आग्रह गर्नुभएको छ। धार्मिक कार्यक्रममा राजनीतिक दलका नेताहरूलाई अतिथि बनाउने र उनीहरूसँग तस्बिर खिच्ने प्रवृत्तिभन्दा आफैँ जिम्मेवारी लिएर काम गर्नुपर्ने उहाँको भनाइ छ।
पुरुषले सनातन हिन्दुराष्ट्रको पक्षमा रहेका समूह र धर्मनिरपेक्षताको पक्षमा रहेका राजनीतिक दलबीच वैचारिक स्पष्टता हुनुपर्ने धारणा राख्नुभएको छ। जिल्ला तथा स्थानीय तहमा रहेका धार्मिक अभियन्ताहरूलाई आफ्नै क्षेत्रको नेतृत्व लिएर संगठन विस्तारमा सक्रिय हुन उहाँले आह्वान गर्नुभएको छ।
स्थानीय तहमा संगठन निर्माण र धार्मिक अभियानलाई प्रभावकारी बनाउन स्थानीय व्यक्तिहरू नै अग्रसर हुनुपर्ने उल्लेख गर्दै उहाँले सनातन धर्म, संस्कृति र स्वदेशको संरक्षणका लागि संगठित भएर काम गर्न आग्रह गर्नुभएको छ।





















